टम्प प्रशासनले १९ देशका नागरिकको ग्रीन कार्ड कडाइका साथ पुनः समीक्षा गर्ने
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले १९ देशका नागरिकहरूलाई अघिल्ला वर्षमा जारी गरिएको ग्रीन कार्ड पुनः मूल्यांकन गर्ने निर्णय गरेको छ।
नागरिकता तथा आप्रवासन सेवा (USCIS) का प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपतिले ती देशका नागरिकहरूको स्थायी बसोबास अनुमति पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका हुन्।
प्राप्त विवरणअनुसार सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान, टोगो र टर्की रहेका छन्। यो निर्णय वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्डमाथि गोली प्रहार गरिएको घटनापछि आएको हो। आरोपित अफगान नागरिक रहमानुल्लाह लकनवालले चलाएको गोलीका कारण एक राष्ट्रिय गार्डको मृत्यु भएको थियो। लकनवाल २०२१ मा विशेष आप्रवासन सुरक्षा कार्यक्रमअन्तर्गत अमेरिका पुगेका थिए। प्रशासनले यस घटनालाई आप्रवासन प्रणालीमा बढ्दो सुरक्षा जोखिमको संकेतका रूपमा अर्थ्याउँदै ग्रीन कार्ड धारकहरूको पृष्ठभूमि पुनः परीक्षण अनिवार्य भएको जनाएको छ। नयाँ समीक्षा प्रक्रियाले प्रभावित देशका नागरिकका कागजी प्रक्रिया अझ कडिने र ढिलो हुने अनुमान गरिएको छ।













