विशेष महाधिवेशनलाई एक मात्र उपायका रूपमा चित्रण गर्नु भ्रामकः नेता गुरुङ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न विवाद, भ्रम र आन्तरिक मतभिन्नताप्रति कडा धारणा सार्वजनिक गरेका छन्। उनले विशेष महाधिवेशनलाई अनिवार्य र अपरिहार्य विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयासहरू उद्देश्यपूर्ण र भ्रामक रहेको आरोप लगाए।
गुरुङले पार्टी विधानमा आवश्यक सबै वैकल्पिक प्रक्रिया खुलेर उल्लेख गरिएको हुँदा विशेष महाधिवेशनलाई एक मात्र उपायका रूपमा चित्रण गर्नु सत्यतथ्यविपरीत छ। उनले वर्तमान परिस्थितिमा पनि यस्ता धेरै व्यवस्थागत विकल्पहरू उपलब्ध रहेको जिकिर गरे।
विशेष महाधिवेशन माग दर्ता गर्दै अघि बढेकाहरूले पार्टी विधानको धारा १७(९)(२) अनुसार आवश्यक पर्ने ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर सुनिश्चित गर्न नसकेको उनको दाबी छ। गुरुङले हस्ताक्षर संकलनको प्रक्रियालाई पारदर्शी बनाउन सनाखत र प्रमाणीकरण तत्काल सुरु गर्न नेतृत्वलाई आग्रह गरे।
उनले हस्ताक्षरको वैधता निर्धारण गर्न स्पष्ट कार्यविधि, मापदण्ड र पदाधिकारी समिति गठन अनिवार्य छ। प्रारम्भिक मूल्यांकनका आधारमा आवश्यक हस्ताक्षर संख्या जुट्ने सम्भावना अत्यन्त कम रहेको उल्लेख गर्दै उनले भने, “हालको अवस्था हेर्दा ४० प्रतिशत त परै जाओस्, २५ प्रतिशतसम्म हस्ताक्षर समेत नपुग्ने संकेत देखिएको छ।”
गुरुङले पार्टीभित्रको आन्तरिक विवादलाई संस्थागत प्रक्रियाबाट समाधान गर्न नेतृत्व जिम्मेवार बन्नुपर्ने र गलत धारणा फैलाएर कार्यकर्तामा भ्रम सिर्जना नगर्न सबै पक्षलाई आग्रह समेत गरेका छन् ।












