हङकङमा आगलागीबाट मृत्यु हुनेको संख्या ९४ पुग्यो, करिब ३०० जना अझै बेपत्ता

User Image Prime TV News २ दिन अगाडि
Image of हङकङमा आगलागीबाट मृत्यु हुनेको संख्या ९४ पुग्यो, करिब ३०० जना अझै बेपत्ता

काठमाडौ । हङकङको ताईपोमा रहेका आवासीय भवनहरूको ठूलो कम्प्लेक्समा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ।

जलन तथा धुवाँको असरबाट ७६ जना घाइते भएका छन् । करिब ३०० जना अझै सम्पर्कविहीन रहेका अधिकारीहरूले जनाएका छन्। बुधवार बिहान सुरु भएको आगो ताई पोस्थित आवासीय क्षेत्रका आठमध्ये सातवटा भवनमा फैलिएको थियो।

दमकल टोलीले घणौँ लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याइए पनि ठूलो जनधनको क्षति भएको छ । स्थानीय बासिन्दाहरूले भवनको संरचना र सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही रहेको आरोप लगाएका छन्। बासिन्दाहरुले दुर्घटना रोकिन सक्थ्यो तर सुरक्षा व्यवस्थाको कमजोरीले यो ठूलो विपत्ति निम्त्याएको वताएका छन् । कम्प्लेक्समा करिब ४,६०० जना बसोबास गर्ने तथ्यांक रहेको बताइए पनि आगलागीका बेला कति मानिस भवनभित्र थिए भन्ने औपचारिक तथ्याङ्क सार्वजनिक भएको छैन।

आगोलागीको कारण औपचारिक रूपमा पुष्टि नभए पनि प्रारम्भिक अनुसन्धानमा भवनको बाहिरी भागमा प्रयोग गरिएको फायरप्रुफ गुणस्तर नभएको सामग्री आगो तीव्र रूपमा फैलिनुको मुख्य कारण हुनसक्ने प्रहरीको भनाइ छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्थामाथि अनिश्चितता बढिरहेका बेला उद्धार टोलीले भवनका क्षतिग्रस्त भागमा खोजी कार्य तीव्र पारेको छ।

अधिकारीहरूले घटनाबारे विस्तृत छानबिन सुरु गरिसकेको र संरचनागत सुरक्षा मापदण्डमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।