काठमाडौँमा पहिलोपटक ‘सडक मर्मत एम्बुलेन्स’ सञ्चालन, खाल्डाखुल्डी अब तत्कालै मर्मत हुने

User Image Prime TV News २ दिन अगाडि
Image of काठमाडौँमा पहिलोपटक ‘सडक मर्मत एम्बुलेन्स’ सञ्चालन, खाल्डाखुल्डी अब तत्कालै मर्मत हुने

काठमाडौ । काठमाडौँका सडकमा बढ्दो खाल्डाखुल्डीको समस्या छिटो समाधान गर्न सरकारले पहिलोपटक ‘सडक मर्मत एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं सडक डिभिजन कार्यालयले तयार पारेको यो सेवाको औपचारिक रूपमा प्रारम्भ गरे । मन्त्रालयका अनुसार सडक एम्बुलेन्स काठमाडौँ जिल्लाभित्रका सामरिक महत्वका सडकमा देखिने क्षति चाँडो पहिचान र मर्मत गर्न परिचालन गरिनेछ।

सडकमा देखिएका खाल्डाखुल्डीको सूचना तुरुन्त प्राप्त गर्न मन्त्रालयले विशेष मोबाइल एप पनि सार्वजनिक गरेको छ। एपमार्फत प्रयोगकर्ताले सडकको अवस्था देखिने फोटो खिचेर अपलोड गर्न सक्नेछन् र मर्मत सकेपछि अद्यावधिक विवरण पनि हेर्न मिल्नेछ।

यसले सडक व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा सरकारले लिएको छ। शुभारम्भ समारोहमा मन्त्री घिसिङले सडक एम्बुलेन्सलाई काठमाडौँ मात्र नभई अन्य प्रमुख शहरहरूमा पनि चरणबद्ध रूपमा विस्तार गरिने बताए। “विकसित देशमा जस्तै अत्याधुनिक उपकरण प्रयोग गरेर छिटो, सुरक्षित र प्रभावकारी मर्मत सेवा प्रवाह गर्न आवश्यक छ,” उनले भने।

सेवा सुरु भएको रातमै सडक एम्बुलेन्सले तीनकुने क्षेत्रमा मर्मत कार्य सम्पन्न गरेको छ। मन्त्री घिसिङ स्वयंले राति गएर कामको स्थलगत निरीक्षण गरेका थिए ।