एनआरएनका दुई छुट्टाछुट्टै पक्ष एकताबद्ध, महेश श्रेष्ठ नेतृत्वमा १२औं महाधिवेशन तय

User Image Prime TV News एक महिना अगाडि
Image of एनआरएनका दुई छुट्टाछुट्टै पक्ष एकताबद्ध, महेश श्रेष्ठ नेतृत्वमा १२औं महाधिवेशन तय

काठमाडौ । विगत केही वर्षदेखि महेशकुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वमा छुट्टाछुट्टै सञ्चालन हुँदै आएका गैरआवासीय नेपाली संघका दुई पक्ष लामो समयपछि एकताबद्ध भएका छन्।

दुवै पक्षले दश बुँदे सहमति गर्दै औपचारिक एकताको घोषणा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ। एकतापछि १७ अप्रिल २०२६ भित्र १२औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने सहमती भएको छ ।

महाधिवेशन पारदर्शी र विश्वासिलो बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने र स्ट्यरिङ कमिटिका सदस्यहरुले भने महाधिवेशनमा उम्मेदवारी दिन नपाउने सहमती भएको छ । सहमति पत्रले ११औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई मान्यता दिने र श्रेष्ठ नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिलाई आगामी महाधिवेशनसम्मको कार्यकाल मानिने व्यवस्था गरेको छ।

यसैगरी, पूर्व अध्यक्षहरू सहितका पूर्व कार्यसमितिहरूलाई अभिलेखीकरण गर्ने सहमति पनि भएको छ। आर्थिक पारदर्शिताका लागि दुवै पक्षले स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने तथा १२औं महाधिवेशन र निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।

सहमति अनुसार, ११औं महाधिवेशनका महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेश गर्ने र डा. बद्री केसीले महेश श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गर्नेछन्। विश्वभरका गैरआवासीय नेपालीको नेतृत्व अब महेश श्रेष्ठले गर्नेछन्। सहमति पत्रमा दुवै पक्षका अध्यक्षडा. बद्री केसी र महेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।