भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल, गजेन्द्रनारायण–मानसिक अस्पताल सबैभन्दा कमजोर

User Image Prime TV News एक महिना अगाडि
Image of भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल, गजेन्द्रनारायण–मानसिक अस्पताल सबैभन्दा कमजोर

काठमाडौ । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले यो जानकारी दिएका छन्। डा. पौडेलका अनुसार, भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको छ।

दोस्रो स्थानमा बाँकेको भेरी अस्पताल (८३ अंक) रहेको छ भने तेस्रो स्थानमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (७९ अंक) रहेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ७५, डडेल्धुरा अस्पताल – ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान – ७१, वीर अस्पताल – ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल – ६४, कोशी अस्पताल – ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – ५९ र नारायणी अस्पतालले– ५६ अंक प्राप्त गरेका छन् ।

तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल (३६ अंक) र पाटनको मानसिक अस्पताल (३२ अंक) सबैभन्दा कमजोर रहेको पाइएको छ। मन्त्रालयका अनुसार, न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापन लगायत ९० भन्दा बढी सूचक समावेश गरिएको छ ।

डा. पौडेलले भने, “स्वास्थ्य संस्थामा नागरिक पुगेका छन्, तर स्वास्थ्य प्रणालीले गुणस्तरीय सेवा दिन सकेको छैन।” यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरू समेटिएका थिए। मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ।