राष्ट्रिय मानव अधिकार आयोगले सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट


काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा जारी सरकार गठन प्रक्रियाप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको आधारमा समाधान खोजिनुपर्ने धारणा सार्वजनिक गरेको हो।
आयोगका अनुसार अहिलेको संकटपूर्ण परिस्थितिमा राष्ट्रपतिको पहल महत्त्वपूर्ण हुने भन्दै राष्ट्रपतिको सम्पर्कमा रहेको जनाएको छ। आयोगले शान्ति स्थापना, मानव अधिकारको संरक्षण, लोकतन्त्रको सुदृढीकरण र कानुनी शासनको संस्थागत विकासमा आफू निरन्तर सक्रिय रहेको पनि स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा आयोग राष्ट्रपतिको सम्पर्कमा रहेको छ। मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको अवधारणालाई आत्मसात् गर्दै समाधान निकाल्नुपर्ने धारणा राष्ट्रपतिसमक्ष राखिएको छ।”
गत सोमबार र मंगलबार मुलुकका विभिन्न स्थानमा भएको प्रदर्शनमा सुरक्षा निकायले बल प्रयोग गरेको, जसका कारण अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको जनाइएको छ। उग्र प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद भवनमा समेत आगजनी गरिएको थियो।
तर, यस्ता गम्भीर घटनामा आयोगले समयमै गहिरो अध्ययन र विश्लेषण नगरेको भन्दै आलोचना भइरहेको छ। आयोगले घटनाको सूक्ष्म अध्ययन र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग विभिन्न पक्षबाट उठिरहेका छन्।
आयोगले आफ्नो विज्ञप्तिमा हालको परिस्थितिबारे अन्य सरोकारवालाहरूसँग पनि निरन्तर संवाद र समन्वय भइरहेको जानकारी दिएको छ। मानव अधिकारको संरक्षण र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता आयोगले दोहोर्याएको छ।
हेर्नुहोस् विज्ञप्तीः
