नेपाली कांग्रेसमा महाधिवेशन मिति विवादः देउवा पक्ष नै दुई धारमा विभाजित
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा आगामी महाधिवेशन मिति तय गर्ने विषयलाई लिएर सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु दुई धारामा विभाजन देखिएका छन् ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा पार्टीका केन्द्रीय सदस्यहरू छुट्टाछुट्टै भेलामा जुटेका छन्। आज काठमाडौंमा दुई फरक स्थलमा भेलाहरू आयोजना भए। करिब ९० केन्द्रीय सदस्यहरू बानेश्वरमा भेला भए भने २८ सदस्य कुपण्डोलमा उपस्थित थिए।
बानेश्वर भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरू उपस्थित थिए। छलफलपछि बानेश्वर समूहले निर्वाचनअघि महाधिवेशन नगर्ने निष्कर्ष निकालेको छ।
सहभागी केन्द्रीय सदस्यका अनुसार, “निर्वाचन तयारीका लागि समय कम भएको कारण अहिले महाधिवेशन गरे पार्टीभित्र विवाद बढ्छ र निर्वाचनमा असर पर्छ।” अर्कोतर्फ, कुपण्डोल बैठकमा सभापति शेरबहादुर देउवाका समर्थक केन्द्रीय सदस्यहरूले निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
बैठकमा सहभागी सदस्य आङगेलु शेर्पाले भने, “अनिर्णयको बन्दी नबन्न नेतृत्वलाई तत्काल महाधिवेशन मिति तोक्न आग्रह गर्ने निर्णय भयो।” यसैबीच सभापति देउवाले विवाद मिलाउन आफ्नै निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री सिटौलासहितका नेतासँग छलफल गरेका छन्।
आन्तरिक छलफल अनुसार पुसभित्रै नियमित महाधिवेशन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्। वर्तमान अवस्थामा पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २८ भित्र विशेष महाधिवेशन गर्न माग गरेका छन्। आइतबार बोलाइएको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र अन्य तयारीबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।













