वामपन्थी घटकहरूलाई एउटै पार्टीमा एकीकृत गर्न सफल भएको प्रचण्डको दावी
Prime TV News एक महिना अगाडि 
धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी बृहत् वामपन्थी एकताको मुख्य आधार बनिरहेको दाबी गरेका छन्।
धनगढीमा आयोजित एकता सन्देश सभा लाई सम्बोधन गर्दै उनले १५ वटा वामपन्थी घटकहरूलाई एउटै पार्टीमा एकीकृत गर्न सफल भएको उल्लेख गर्दै यसलाई “रेकर्डयोग्य उपलब्धि” का रूपमा व्याख्या गरे।
प्रचण्डले वाम एकताको केन्द्रीय लक्ष्य एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी धारालाई पनि समेटिने दिशामा रहेको बताए। उनले नयाँ संरचनामा सबैलाई अटाउन सक्ने भएकाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको उल्लेख गरे ।
उनले भने, “यहाँ अब कोही माओवादी छैन, कोही एकीकृत समाजवादी छैन। सबै वामपन्थीहरू एकीकृत भएर नयाँ शक्ति निर्माण गर्ने उद्देश्य हो। हाम्रो ध्यान एमालेतिर पनि छ, त्यहाँ रहेका सबै वामपन्थी र क्रान्तिकारीहरूलाई पनि यही अभियानमा जोडिन आग्रह गर्दछु।”
एमालेभित्रका क्रान्तिकारी सोच भएका कार्यकर्ताहरूलाई आफ्नो भविष्यबारे गहिरो रूपमा सोच्नुपर्ने भन्दै उनले सुझाव दिए।













