नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद गहिरिँदै, महाधिवेशन पक्षधर समूहले वार्ता अस्वीकार

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद गहिरिँदै,  महाधिवेशन पक्षधर समूहले वार्ता अस्वीकार

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा उत्पन्न विवाद थप चर्किदैँ गएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको माग राख्दै आएका नेताहरूलाई वार्ताका लागि बोलाए पनि पक्षधर समूहले अनौपचारिक प्रक्रिया भन्दै वार्तामा सहभागी नहुने निर्णय गरेको छ।

शुक्रबार सभापति शेरबहादुर देउवासँगको छलफलपछि खड्काले शनिबार बिहान साढे ८ बजे वार्ताका लागि बोलाएको जानकारी विशेष महाधिवेशन अभियानका अभियन्तामध्येका नेता गुरूराज घिमिरेले दिएका छन्।

तर, औपचारिक पत्र नआएकाले वार्ताको निमन्त्रणालाई अस्वीकार गरिएको घिमिरेको भनाइ छ। “हामीले पार्टीसँग सबै कुरा औपचारिक रूपमा गरेका छौं, तर पार्टीले मौखिक रूपमा मात्र बोलाएको छ। त्यसकारण अनअफिसियल निमन्त्रणामा हामी सहभागी हुँदैनौं,” उनले भने।

उनका अनुसार कार्यवाहक सभापति खड्काले वार्ताका लागि संकेत दिएपछि पक्षधर समूहले तत्काल बैठक बोलाएर छलफल गरेको थियो। बैठकले वार्तामा नजाने निर्णय गरेको नेता घिमिरेले बताए। असोज २९ गते कांग्रेसको १४औँ महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग कार्यवाहक सभापति खड्कालाई बुझाएका थिए।

पार्टी विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ, जसको समय सीमा पुस २८ मा समाप्त हुँदैछ। विधानगत समय नजिकिँदै जाँदा कांग्रेस नेतृत्वको रणनीति, विशेष महाधिवेशन आह्वान हुने नहुने र आन्तरिक सन्तुलन कसरी मिल्ने भन्ने प्रश्नले कांग्रेस पार्टी भित्र तनाव शिर्जना गरेको छ ।