अध्यक्ष ओली र नेता पोखरेल पक्षबीच आरोप प्रत्यारोप तीव्र
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदको प्रतिस्पर्धाले पार्टीभित्रको वातावरण तातेको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि संस्थापन पक्षले उनीमाथि दबाब, धम्की र दाबाबपूर्ण अभियान तीव्र बनाएको छ। महाधिवेशन मंसिर २७ गते उद्घाटन हुने छ। प्रतिनिधि छनोट प्रक्रिया जारी रहँदा दुवै पक्षबीचको शक्ति प्रदर्शन खुलेर सतहमा आएको छ।
सुनसरीको धरानमा प्रतिनिधि छनोटका क्रममा विवाद चर्किँदै पोखरेल पक्षीय नेतामाथि कुटपिट भएपछि आन्तरिक संघर्ष सार्वजनिक रूपमा प्रकट भएको छ। पूर्वमन्त्री भीम आचार्यका स्वकीय तथा पोखरेल निकट मानिने अनिल राजधामीमाथि भएको कुटपिटलाई इतर पक्षले “उम्मेदवारी फिर्ता गराउन संस्थापन पक्षले देखाएको शक्ति प्रदर्शन” भनेर आरोप लगाएका छन्।
अध्यक्ष ओली नजिक रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार पोखरेललाई उम्मेदवारी फिर्ता लिन खुलेआम चेतावनी दिए। उनले पोखरेलको घोषणाले अनावश्यक प्रतिस्पर्धा र द्वन्द्व सिर्जना गरेको दाबी गर्दै अहिले पार्टीलाई नेतृत्व परिवर्तन होइन, स्थिरता र एकताको आवश्यकता भएको बताए। बस्नेतले भने,“आजको प्रश्न नेतृत्व दाबी होइन, पार्टी टुटफुटबाट कसले जोगाउँछ? कठोर परिस्थितिमा दृढ नेतृत्व केवल ओलीबाटै सम्भव छ।”
पोखरेल समूहका नेताहरूले बस्नेतको भाषा र चेतावनीलाई अराजक, गैर कम्युनिस्ट र गुण्डागर्दी शैलीको अभिव्यक्ति भएको आरोप लगाए। लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा नै स्वाभाविक हो। बस्नेतजस्ता कट्टर शैलीका व्यक्तिहरूलाई संरक्षण दिँदा ओलीलाई नै हानि हुन सक्ने पोखरेल पक्षधर नेताहरुको भनाई छ ।
महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षले ओलीलाई एकल विकल्पका रूपमा चित्रण गर्ने अभियान पनि सुरु गरिसकेको छ। ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ जस्ता नारा लेखिएका पोस्टर विभिन्न स्थानमा सार्वजनिक गरिएको छ ।
सर्वसम्मत नेतृत्वको प्रयास कमजोर बन्दै गएको अवस्थामा ओली र पोखरेलबीचको प्रतिस्पर्धा अब प्रस्ट रूपमा दुई धारको शक्ति परीक्षणमा रूपान्तरित भएको छ। प्रतिनिधि छनोटमा देखिएको तनाव, नेताहरूबीचको कडा टिप्पणी र बढ्दो ब्रान्डिङ अभियानले एमालेको महाधिवेशन अत्यन्त प्रतिस्पर्धात्मक र निर्णायक हुने संकेत दिइरहेको छ।













