एमाले महाधिवेशनअघि नेतृत्व बहस , १९ सदस्यीय सचिवालय सदस्यमा ७ जना ओलीको पक्षमा

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले महाधिवेशनअघि नेतृत्व बहस , १९ सदस्यीय सचिवालय सदस्यमा ७ जना ओलीको पक्षमा

काठमाडौ । नेकपा एमालेको आगामी महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदको प्रतिस्पर्धा तेज भइरहेका बेला पार्टीभित्रका सातजना केन्द्रीय पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

एमालेको १९ सदस्यीय सचिवालय मध्ये उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले ओली नेतृत्वलाई निरन्तरता दिनुपर्नेमा ऐक्यबद्धता जनाएका हुन्।

सचिव लेखराज भट्टले सचिवालय बैठकमै आफूले ओलीको निरन्तरताको प्रस्ताव राखेको बताएका थिए । अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट नेताहरूले उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङ र सचिव छविलाल विश्वकर्मा तथा महासेठ आफ्नै समूहतिर लाग्न सक्ने दाबी गर्दै आएका थिए।

तर यी सबै ओलीकै पक्षमा खुलेपछि पोखरेल समूहको शक्ति सन्तुलनमा चुनौती परेको छ। संगठनभित्र पछिल्ला दिनमा बढ्दो ध्रुवीकरणका बीच सात शीर्ष पदाधिकारी खुलेर ओलीको पक्षमा उभिनुले अध्यक्ष पदमा दुईध्रुवीय प्रतिस्पर्धा झनै तीव्र बनाएको छ। महाधिवेशनमा ओली पोखरेलबीचको भिडन्त निर्णायक हुने संकेत देखिँदैछ।