एमाले महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट, केही क्षेत्रमा प्रतिस्पर्धामार्फत मतदान
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले आफ्नो एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट प्रक्रिया सञ्चालन गरिरहेको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार मनोनयन मङ्सिर ११ गतेै सम्पन्न भइसकेकाले सहमति नजुटेका निर्वाचन क्षेत्रहरूमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। अधिकांश जिल्लामा मतदानको समय दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ भने स्थानीय परिस्थितिअनुसार केही जिल्लाले समय परिवर्तन गरेका छन्। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा कोटासहित करिब दुई हजार प्रतिनिधि चयन हुँदैछन्। यसैगरी प्रवास, जनसंगठन तथा विभिन्न विभागबाट करिब १०० प्रतिनिधि हुनेछन्। मनोनीतसहित एमालेको ११औँ महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने अनुमान छ। पार्टी सचिवालयले यसअघि केन्द्रीय संगठन विभागको प्रस्ताव पारित गरी मातहतका कमिटीमा पठाइसकेको थियो। त्यस अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रका हरेक १२०० सदस्यका आधारमा खुला दुई र महिला एक प्रतिनिधि निर्वाचित गरिनेछ, जसमा एक जना अनिवार्य रूपमा ४० वर्षभन्दा कम उमेरका युवा हुनुपर्ने प्रावधान छ। त्यस्तै ८०० सदस्यमा एक महिला, ५०० सदस्यमा एक दलित प्रतिनिधि, ट्रेड युनियनबाट प्रदेशगत सात प्रतिनिधि, जनसंगठनबाट पाँच–पाँच र महासंघीय संरचनामा रहेका जनसंगठनबाट सात–सात जनाको प्रतिनिधित्व हुने व्यवस्था छ। विभाग र कार्यालयबाट एक–एक जना हुनेछन्। प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि रहनेछन्। यसका अतिरिक्त केन्द्रीय कमिटीबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्बाट २५ गरी ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्। एमालेका ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यमध्ये प्रदेश, निर्वाचन क्षेत्र, विशेष जिल्ला, दलित, ट्रेड युनियन, प्रवास, विभाग तथा जनसंगठन गरी करिब १९०० भन्दा बढी प्रतिनिधि रहने अनुमान छ। पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने प्रावधान छ। यी सबै समावेश गर्दा २१ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा रहने अनुमान गरिएको छ। पार्टी सचिवालयको पछिल्लो निर्णयले सदस्य अनुपातका आधारमा केही प्रतिनिधि थप हुने सम्भावना रहेको बताइएको छ। एमालेको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने छ।












