कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको सडक दुर्घटनामा निधन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर–२ मा शुक्रबार साँझ भएको मोटरसाइकल र स्कुटर ठक्कर दुर्घटनामा कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ।
प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजरसमेत रहेका आचार्य चढेको स्कुटरलाई तीव्र गतिमा आएको मोटरसाइकलले ठोक्काएपछि उनी गम्भीर घाइते भएका थिए।
कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल यामबहादुर शाहीले चलाइरहेका थिए। मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको मोटरसाइकलले वडा कार्यालय अगाडि स्कुटरलाई सीधै ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा आचार्यको टाउको र शरीरका महत्वपूर्ण भागमा गम्भीर चोट लागेको थियो। मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्।
टाउको र शरीरका विभिन्न भागमा चोट लागेपछि उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। वीरेन्द्र आचार्य क्षेत्रीय सञ्चार जगतका जुझारु पात्र मानिन्थे।
कालिकोटदेखि कर्णालीसम्मको समाचार प्रवाह, समुदायमा आधारित रेडियो पत्रकारिता र संगठनात्मक नेतृत्वमा उनको सक्रियता उल्लेखनीय थियो।













