पूर्वराष्ट्रपति यादवद्वारा संविधानको कार्यान्वयनमार्फत जेनजीको माग सम्बोधन गर्न अपिल


काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गर्न तथा युवाहरूका वैध मागहरू सम्बोधन गर्न नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपतिले संविधान नै मुलुकको मार्गचित्र भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले कार्यान्वयन गर्नु नै वर्तमान संकटको समाधान र भविष्यका जटिलता टार्ने एक मात्र उपाय भएको बताएका छन्।
उनले झन्डै सात दशकको संघर्ष र सयौँ शहीदको बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ को कार्यान्वयनबाटै जेनजी पुस्ताका आकाङ्क्षा र उद्देश्यहरू पूरा गर्न सम्भव रहेको बताएका छन् । युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य, पूर्ण अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन प्रणाली जस्ता मागहरू स्वाभाविक र न्यायोचित रहेको पनि डा यादवको भनाई छ ।
तर, उनले आन्दोलनको नाममा भएको विध्वंसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको कारण, उद्देश्य र जिम्मेवार पक्षको पहिचान आवश्यक रहेको बताए। आन्दोलनको क्रममा जुन तहको विनाश र विध्वंस मच्चाइयो, त्यसलाई बेवास्ता गर्न सकिन्न। त्यसका वास्तविकता पहिल्याउनु आजको अत्यावश्यक कार्य हो, विज्ञप्तिमा उल्लेख छ।
पूर्वराष्ट्रपतिले जिम्मेवार निकायहरूलाई नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र देशलाई सुव्यवस्थित दिशामा अगाडि बढाउन गम्भीरतापूर्वक भूमिका खेल्न अपिल गरेका छन्।