चक्रवात ‘दित्वा’का कारण दक्षिण भारतमा भारी वर्षाको चेतावनी

User Image Prime TV News एक दिन अगाडि
Image of चक्रवात ‘दित्वा’का कारण दक्षिण भारतमा भारी वर्षाको चेतावनी

काठमाडौ । भारतको मौसम विभागले बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘दित्वा’का कारण दक्षिण भारतका तटीय राज्यहरू गम्भीर जोखिममा रहेको चेतावनी दिएको छ।

आईएमडीका अनुसार यो चक्रवात नोभेम्बर ३० को बिहानसम्म तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेश नजीकै तटमा ठोक्किन सक्ने अनुमान गरिएको छ। आईएमडीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दित्वा अहिले श्रीलंकाको तट र दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा सक्रिय छ। यसको प्रभावले तटीय क्षेत्रमा भारी वर्षा, चर्को हावा र समुद्री उथलपुथल अनिवार्य रूपमै ल्याउने संकेत देखिएको छ।”

सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार यस चक्रवातका कारण डिसेम्बर १ सम्म तमिलनाडुका विभिन्न भागमा ठूलो मात्रामा वर्षा हुनेछ। आन्ध्र प्रदेशमा पनि नोभेम्बर २९ देखि डिसेम्बर १ बीच केही स्थानमा जोरदार वर्षा पर्ने प्रक्षेपण गरिएको छ।

आज मात्रै केरला, पुडुचेरी र कर्नाटकका केही भागमा ३०–४० किलोमिटर प्रतिघण्टासम्मको हावासहित भारी वर्षा हुनसक्ने चेतावनी जारी गरिएको छ। मौसम विभागले यसलाई हल्का चेतावनी नभई अत्यन्त गम्भीर स्थिति बन्न सक्छ भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।