प्रचण्डको आत्मालोचना : विगतमा गरेका गल्तीहरू जनताका लागि हानिकारक भयो

User Image Prime TV News एक दिन अगाडि
Image of प्रचण्डको आत्मालोचना : विगतमा गरेका गल्तीहरू जनताका लागि हानिकारक भयो

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मालोचना गर्दै पार्टीले विगतमा गरेका गल्तीहरू जनताका लागि हानिकारक भएको स्वीकार गरेका छन्।

दाङको लमहीमा आयोजित एकता सन्देश सभामा उनले विगतका कमजोरीलाई फेरि दोहोरिए भने त्यो पार्टीका लागि पनि र राष्ट्रका लागि पनि भयावह हुने बताए ।

१५ वटा विभाजित कम्युनिस्ट समूहहरूलाई एउटै छातामुनि ल्याएर बनेको नेकपा केवल चुनाव जित्नका लागि नभइ राष्ट्र र जनताको रक्षा गर्न जन्मिएको ऐतिहासिक संकल्प भएको प्रचण्डको दाबी थियो।

तर उनले यति ठूलो संकल्प बोकेका नेतृत्वले संविधान जारी गरे पनि जनताले अपेक्षित गराएको न्याय, सुशासन र समृद्धि दिन नसक्नु गम्भीर कमजोरी भएको स्वीकार गरे। “हामीले राष्ट्र र जनताका पक्षमा काम गर्ने कोसिस गर्‍यौँ, तर परिणाम भनेजस्तो निकाल्न सकिएन,” भन्दै प्रचण्डले विगतका त्रुटिहरूलाई ढाकछोप नगर्ने प्रतिज्ञा गरे।

पछिल्लो वर्ष देखिएको नयाँ पुस्ताको जेनजी आन्दोलनले नेतृत्वलाई कठोर रुपमा झकझक्याएको उल्लेख गर्दै प्रचण्डले युवाहरूको असन्तुष्टि कुनै सामान्य विरोध नभई पुरानो नेतृत्वप्रति उठेको ठोस आरोप भएको बताए।

“युवाको चिच्याहटले हाम्रो सुस्ती, हाम्रो गल्ती, हाम्रा ढिलाइहरू सबै उजागर गरिदियो,” उनले भने। यसको समाधान भनेको आफूहरू बदलिनु र युवाले खोजेको पारदर्शी, ईमानदार र परिणाममुखी राजनीति अपनाउनु मात्र रहेको उनले बताए।