नेपाली कांग्रेसमा बढ्दै गएको विवाद समाधानविहीन,आजको छलफलमा पनि कुनै ठोस समझदारी हुन सकेन
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा बढ्दै गएको विवाद फेरि एकचोटि समाधानविहीन बनेको छ। सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा आइतबार करिब चार घण्टा चलेको छलफलले पनि कुनै ठोस समझदारी निकाल्न सकेन।
बैठकमा छलफलको केन्द्रबिन्दु विशेष महाधिवेशन रोक्ने कि नियमित महाधिवेशन अघि बढ्ने भन्ने नै रह्यो। नेता विमलेन्द्र निधिका अनुसार सभापति देउवाले नियमित महाधिवेशन मंसिर, पुस वा माघ जुन महिनामा गर्नुपर्ने भए पनि गर्नु नै ठीक हुने र विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राखे। उनले मध्यमार्ग अपनाउँदै विवाद चाँडै अन्त्य गर्न आग्रह गरे।
तर महामन्त्री गगनकुमार थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिने जिम्मा आफूले लिन नसक्ने भन्दै देउवाको आग्रह अस्वीकार गरे।
बैठकमा डा. शेखर कोइराला र रमेश लेखकले पुसमै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखे। तर यो प्रस्ताव निधि र कृष्ण प्रसाद सिटौलाले कडा रूपमा अस्वीकार गरे।
पुस वा माघमा विशेष महाधिवेशन गर्दा फागुन २१ का लागि तय भएको निर्वाचन प्रभावित हुन्छ, साथै राष्ट्रियसभा र समानुपातिक सूचीसम्बन्धी तयारी समयमै गर्न नसकिने जोखिम बढ्न सक्ने उनीहरुको भनाइ छ ।
निधि र सिटौलाले यदि केन्द्रीय समितिमा सर्वसम्मति हुन नसके बहुमत–अल्पमतका आधारमा निर्णय लिनुपर्ने सुझाव पनि राखे। देउवाले भने पार्टीभित्रको बढ्दो तनाव रोक्न जोसुकै स्वीकार्य हुने विकल्प अघि सार्न तयार रहेको बताएका थिए।
तर नेताहरूबीचको कटकटी हट्न नसक्दा भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि सारिएको छ। अब बैठक सोमबार दिउँसोसम्मका लागि स्थगित गरिएको छ।












