नेपाल प्रिमियर लिग : काठमाण्डु गुर्खाज र कर्णाली याक्स आज आमनेसामने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल प्रिमियर लिग : काठमाण्डु गुर्खाज र कर्णाली याक्स आज आमनेसामने

काठमाडौ । नेपाल प्रिमियर लिगमा आज एक मात्र खेल हुँदैछ। दिउँसो ३ः३० बजे हुने खेलमा काठमाण्डु गुर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्।

काठमाण्डु गुर्खाज पाँच खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डुले दोस्रो र तेस्रो खेलमा क्रमशः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार व्यहोर्नुपरेको थियो।

चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनको जीत दर्ता गरेपछि काठमाण्डुले पाँचौँ खेलमा चितवनलाई ५३ रनले पराजित गर्दै पुनः लय समातेको छ।

कर्णाली याक्स भने चार खेलमा जम्मा २ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा चितवनसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनीविरुद्ध शानदार ९ विकेटको जीत निकालेको थियो।

यद्यपि पछिल्ला दुई खेलमा सुदूरपश्चिमसँग ४५ रनले र विराटनगरसँग ३ विकेटले पराजित हुँदै कर्णाली दबाबमा परेको छ। प्लेअफ सम्भावना जिवित राख्न कर्णालीले अब बाँकी सबै खेलमा जित निकाल्नु आवश्यक छ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ सुनिश्चित गरिसकेको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगर ८ अंकसहित दोस्रो स्थानमा छ।

६ अंकीय काठमाण्डु तेस्रो स्थानमा रहँदा चितवन र लुम्बिनी दुवै समान ४ अंकमा छन्। रनरेटका आधारमा चितवन चौथो र लुम्बिनी पाँचौँ स्थानमा छन्। कर्णाली र पोखरा दुवै २–२ अंकमा रहेका छन् भने जनकपुर अंकविहीन अवस्थामा पुछारमा छ।