व्यवसायिक सम्पत्तिमाथि आक्रमणको निजी क्षेत्रद्वारा विरोध


काठमाडौ । हालैको जेन्जी आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, प्रतिष्ठान र निवासहरूमा तोडफोड, आगजनी र लुटपाट भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले कडा विरोध जनाएका छन्।
महासंघले भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार, हिल्टन होटल, एनसेल मुख्यालय, गोल्छा, चौधरी र महतो जस्ता व्यवसायीहरूको सम्पत्तिमा भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। यसले अर्बौंको क्षति पुर्याएको र राष्ट्रको राजश्व तथा कुल गार्हस्थ्य उत्पादनमा असर पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
दुवै संस्थाले हिंसात्मक गतिविधिको निन्दा गर्दै सम्पत्तिको सुरक्षाका लागि उपयुक्त वातावरण सुनिश्चित गर्न सरकार र आन्दोलनकारी सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनीहरूले सामाजिक न्यायसहितको आर्थिक स्थायित्व, सुशासन, वाक स्वतन्त्रता र व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।