रास्वपा र विवेकशील साझाको एकता आज
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझाले आज औपचारिक रूपमा पार्टी एकता घोषणा गर्दैछन्।
आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणासभामा दुवै दलका शीर्ष नेताहरू उपस्थित रहनेछन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार एकता प्रक्रियाका सबै तयारी सकिएको छ।
रास्वपा र विवेकशील साझाबीच लामो समयदेखि चलिरहेको छलफलले अन्ततः सहमतिको रूप लिँदै संयुक्त दलको रुपमा अघि बढ्ने निर्णय भएको हो।
असल शासन, पारदर्शिता र समृद्धिको एजेन्डालाई आधार बनाएर अघि बढ्ने उद्देश्य दुवै पक्षले सार्वजनिक गरेका छन्। विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व संरचना र चुनाव चिह्न स्वीकार गर्दै निःसर्त एकतामा जाने निर्णय बैठकमार्फत पारित गरेको थियो।
विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा नागरिक आंदोलनका रूपमा सुरु भएको थियो। त्यही अभियान २०७० मा विवेकशील नेपाली दलका रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको थियो।
तर राजनीतिक यात्रा क्रमशः कमजोर बन्दै गएको विवेकशील पक्षका लागि रास्वपासँगको एकता नयाँ मोडको रूपमा हेरिएको छ। रास्वपा भने २०७९ असार ७ गते स्थापना भई छोटो समयमा नै राष्ट्रिय राजनीतिमा ध्यानाकर्षण गर्न सफल भएको दल हो।












