ईश्वर पोखरेलको सन्देश: नेतृत्व चयनमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा आवश्यक छ

User Image Prime TV News १७ घण्टा अगाडि
Image of ईश्वर पोखरेलको सन्देश:  नेतृत्व चयनमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा आवश्यक छ

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा आगामी महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनलाई संगठनगत रुपान्तरण र नेतृत्व निर्माणका दृष्टिले निर्णायक मोडको रूपमा प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै पोखरेलले आफू अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएको सन्दर्भलाई उल्लेख गर्दै महाधिवेशनलाई पार्टीभित्र लोकतान्त्रीकरण र बहस संवादको संस्कृति मजबुत पार्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।

उनले भने,“नेपाल कम्युनिस्ट पार्टी एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणलाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ। यही मार्ग हुँदै मुलुकमा समृद्धिको अभियान बलियो हुन्छ।”

पोखरेलले नेतृत्व चयनमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा आवश्यक रहेको भन्दै महाधिवेशनले पार्टीलाई आवश्यक रणनीतिक दिशानिर्देशन दिनुपर्नेमा जोड दिएका छन् । “महाधिवेशनमा तपाईंहरू प्रतिनिधिले महत्त्वपूर्ण भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” उनले भने।

लगभग १ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियो सन्देश प्रतिनिधिहरूलाई लक्षित थियो। पोखरेलले पार्टीका विभिन्न तहमा सर्वसम्मत तथा प्रतिस्पर्धात्मक दुवै प्रक्रियाबाट प्रतिनिधि छनोट सम्पन्न भएको जानकारी दिँदै चयन प्रक्रियामा सहभागी सबैप्रति धन्यवाद व्यक्त समेत गरेका छन् ।