मुस्लिम समुदायबारे अभिव्यक्तिपछि प्रधानमन्त्री कार्कीको प्रष्टिकरण: कुनै धर्मलाई होच्याउने आशय थिएन
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायबारे व्यक्त गरिएको आफ्नै अभिव्यक्तिलाई लिएर उठेको आलोचनापछि सबै धर्मप्रति आफ्नो समान सम्मान रहेको स्पष्ट गरेकी छिन्।
उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैसँग अपिल गरेकी छिन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा मङ्सिर ९ गते दिएको अभिव्यक्तिमा आधारित टिप्पणीहरू व्यापक रूपमा फैलिन थालेपछि प्रधानमन्त्रीले आफ्नो उद्देश्य कुनै समुदायलाई कमजोर देखाउने नभएको उल्लेख गरेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उनको भनाइ उद्धृत गर्दै भनिएको छ,“सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।”
उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले केही मुस्लिम बहुल देशमा महिलाले भोग्नुपरेका प्रतिबन्ध, हिंसात्मक व्यवहार र स्वतन्त्रताको कमीका उदाहरण दिएकी थिइन्। उनले जिउँदै महिलालाई गाड्ने, सार्वजनिक रूपमा तान्ने, पढ्न नदिने जस्ता अभ्यासहरू उल्लेख गर्दै, “धर्मले महिलालाई सताऊ, पीडा देऊ भन्दैन,” भनेकी थिइन्।
यद्यपि, उनको उक्त टिप्पणीलाई कतिपयले मुस्लिम समुदायप्रति सामान्यीकरण गरिएको अभिव्यक्ति भन्दै आलोचना गरेका थिए। आलोचनापछि प्रधानमन्त्रीले आफ्नो टिप्पणी ऐतिहासिक घटना र कतिपय देशहरूको व्यवहारको सन्दर्भमा मात्र भएको भन्दै उद्देश्य गलत रूपमा पेश भएको प्रतिक्रिया व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, समुदाय वा सांस्कृतिक समूहलाई लक्षित गरेर टिप्पणी नगरेको स्पष्ट गर्दै, धर्म, महिला अधिकार र मानव सम्मानका विषयमा संवेदनशील भएर बुझ्न सबैलाई आग्रह गरेकी छिन्।













