क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड, ४ को मृत्यु, १० घाइते
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । स्टकटनस्थित एक बैंक्वेट हलमा पारिवारिक जमघट चलिरहेको बेला भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।
सान जोआक्विन काउन्टी शेरिफ अफिसका अनुसार मृतक र घाइतेमध्ये बालबालिका र वयस्क दुवै रहेको जनाएको छ । शेरिफ अफिसका प्रवक्ता हिथर ब्रेन्टका अनुसार प्रारम्भिक तथ्याङ्कले घटनालाई लक्षित हमला भएको संकेत दिएको छ।
हालसम्म संदिग्ध बन्दुकधारी पक्राउ परेका छैनन् र अनुसन्धान तीव्र रूपमा जारी रहेको वताएको छ । जिल्ला अधिवक्ता रोन फ्रिटासले जनतासँग सहयोगको अपिल गर्दै भने, “यदि तपाईंसँग यस व्यक्तिबारे कुनै पनि उपयोगी जानकारी छ भने तुरुन्त सम्पर्क गर्नुहोस्।
यदि तपाईं नै संदिग्ध हुनुहुन्छ भने तत्काल आत्मसमर्पण गर्नुहोस्।” घटना साँझ ६ बजेभन्दा केहीअघि भएको थियो। स्टकटनकी मेयर क्रिस्टिना फुगाजीले घटनाप्रति दुःख व्यक्त गर्दै भनिन्, “परिवारहरूले अस्पतालमा होइन, आफ्नै घरमा साथ पाउनु पर्थ्यो। हामी आफ्ना प्रियजनको सुरक्षाका लागि प्रार्थना गर्दैछौं।”
घाइतेहरूको अवस्था सम्बन्धमा विस्तृत विवरण हाल सार्वजनिक गरिएको छैन। प्रारम्भिक सूचनाअनुसार घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ।













