श्रीलंकामा ‘दित्वाह’ आँधीपछि बाढीपहिरो, मृत्यु १९३ पुग्यो
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । श्रीलंकामा आएको समुन्द्री आँधी ‘दित्वाह’ पछि आएको बाढी र पहिरोमा परी हालसम्म १९३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता छन्। त्यहाँको विपद् व्यवस्थापन केन्द्रका अनुसार २० हजारभन्दा बढी घर क्षतिग्रस्त भएका छन्।
देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प भएको छ। केलानी नदीको पानीको स्तर द्रुत गतिमा बढेसँगै सरकारले प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ। मृत्यु हुनेमध्ये विशेषगरी क्यान्डी र बदुल्ला क्षेत्रमा धेरै छन्। अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ।
हाल करिब १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरमा राखिएको छ। श्रीलंकाली सरकारले प्रभावित क्षेत्रमा राहत कार्य तीव्र पार्न अन्तर्राष्ट्रिय सहयोगको माग गरेको छ। साथै, विदेशमा रहेका श्रीलंकालीहरूलाई पनि सहयोगका लागि आह्वान गरिएको छ।
देश अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ र सरकारी राहत तथा उद्धार प्रयासहरू तीव्र रूपमा जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।













