पोखरामा नेकपाको एकता सन्देशसभा, भीम रावलले ‘एमाले’ उल्लेख गरेपछि क्षणभरमा हलचल

User Image Prime TV News एक महिना अगाडि
Image of पोखरामा नेकपाको एकता सन्देशसभा, भीम रावलले ‘एमाले’  उल्लेख गरेपछि क्षणभरमा हलचल

काठमाडौ । कास्कीको पोखरामा नेपाली कम्युनिस्ट पार्टीले आइतबार मंसिर १४ गते आयोजना गरेको एकता सन्देशसभामा पार्टीका शीर्ष नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् । पोखराको मानवअधिकार चोकमा भएको विशाल सभामा नेताहरूको उपस्थिति उल्लेख्य थियो ।

सभालाई सम्बोधन गर्ने क्रममा नेकपा नेता भीम रावलले भाषणको एक अंशमा ‘नेकपा (एमाले)’ भनेर उल्लेख गरेपछि क्षणभर हलचल भएको थियो । लामो समय एमालेमै राजनीतिक यात्रा बिताएका रावलले आउँदो प्रतिनिधिसभा निर्वाचनमा “एमालेले बहुमत ल्याउने” भनेपछि केहीबेर मात्रै उनी स्वयंले शब्द सुधार गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

रावलले भने, “चिप्लेढुंगामा धेरै वर्षपछि तपाईंहरूबीच उपस्थित हुन पाउँदा खुशी लागेको छ । धनगढी, लमहीपछि पोखरामा पनि यति ठूलो जनसमुदाय देख्दा हाम्रो यात्रालाई कसैले रोक्न सक्दैन भन्ने विश्वास अझै दृढ भएको छ ।”

आफ्नो भाषणमा उनले कार्यकर्तालाई साथ दिन आग्रह गर्दै सो पार्टीले समृद्ध नेपालका लागि दृढ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाए । रावलले हालै मात्र विभिन्न दल/समूह मिलेर कात्तिक १९ गते गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । उनलाई कात्तिक २६ गते पार्टी प्रवेश गराइएको थियो ।

यसअघि नेकपाले दाङको लमही र कैलालीको धनगढीमा पनि एकता सन्देशसभाहरू सम्पन्न गरिसकेको छ । पार्टीले यी कार्यक्रमलाई संगठन विस्तार र आगामी राजनीतिक अभियानका तयारीको रूपमा लिएको बताइएको छ ।