नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिम साता गर्ने तयारी, कार्यतालिका सहमतिको दिशामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्र लामो समयदेखि महाधिवेशन सम्बन्धी विवाद अन्तत् सहमती नजिक पुगेको छ ।
कांग्रेसको महाधिवेशन आगामीको अन्तिम साता गर्ने तयारी भएको छ । पुस २६ देखि २९ गतेसम्म गर्ने तयारी अघि बढेको कांग्रेसका नेताहरुले बताएका छन् । असोज २८ यतादेखि महाधिवेशन प्रक्रियामा उत्पन्न विवादलाई समाधान गर्न सभापति शेरबहादुर देउवाले नेतृत्व लिन संगठकीय निर्देशन दिएका थिए।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग छलफल गरी महाधिवेशनको कार्यतालिका प्रस्ताव तयार पारेका छन्।
यो प्रस्ताव सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापतिकै तर्फबाट प्रस्तुत गरिनेछ। यसअघि महामन्त्री र सहमहामन्त्रीले छुट्टाछुट्टै प्रस्ताव पेस गर्दा मतभेद बढेको थियो। सहमतिको वातावरण बनाउन कार्यतालिका एउटै प्रस्तावमा एकीकृत गरिएको बताइएको छ ।
अबको बैठकमा कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि होइन, निर्णयार्थ पेस गर्ने बताइएको छ । “संसदमा प्रस्ताव टेबुल गर्ने र अन्तिममा सभामुखले निर्णयार्थ राख्ने प्रक्रियाजस्तै केन्द्रीय समितिमा पनि कार्यवाहक सभापतिले नै प्रस्ताव राख्ने तयारी गरिएको हो,” स्रोतले जानकारी दियो।
प्रस्तावमा कुनै विमति आएमा मतविभाजन प्रक्रियामार्फत निर्णय गर्ने विकल्प खुला रहने बताइएको छ। कार्यवाहक सभापति खड्काले प्रस्तावलाई सर्वसम्मत बनाउने उद्देश्यले थप नेताहरूसँग परामर्श जारी राखेका छन्।












