राष्ट्रपतिद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रपतिद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त

काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि हालसम्मका सबै सरकारहरू संविधानको धारा ७६ बमोजिम गठन भएका थिए।

युवा जेन–जीू आन्दोलनको दबाबका कारण प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेकी कार्कीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीको नियुक्तिपत्र दिएका हुन् ।

यद्यपि, नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिको भूमिका, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ, उक्त धारामा प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी कुनै स्पष्ट प्रावधान छैन।

धारा ६१ अनुसार, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, तथा संविधान र संघीय कानुनअनुसार मात्र कार्य सम्पादन गर्ने उल्लेख छ।

संविधानतः प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया धारा ७६ मा स्पष्ट रूपमा निर्धारण गरिएको छ। सो धारा अनुसार, प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने नेतालाई प्रधानमन्त्री नियुक्त गरिन्छ। त्यसैले, धारा ७६ को औपचारिक प्रक्रिया नअपनाई राष्ट्रपतिको एकपक्षीय निर्णयमा प्रधानमन्त्री नियुक्त गर्नु संविधानको भावना विपरीत देखिन्छ।

संवैधानिक विज्ञहरूका अनुसार, यस्तो कदमले संवैधानिक अन्योल उत्पन्न गर्न सक्नेछ, जसको न्यायिक परीक्षणको आवश्यकता पर्न सक्ने सम्भावना रहेको बताइएकाे छ ।