एनपीएल दोस्रो संस्करणमा आज ‘ब्रेक’, भोली दुई निर्णायक खेल
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । एनपीएल दोस्रो संस्करणमा लगातारको खेलपछि सोमबार प्रतियोगिता एक दिनका लागि रोकिएको छ।
आइतबार सम्पन्न १९ औँ खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेसँगै अंकतालिका फेरि बदलिएको छ।
अंकतालिकामा सुदूरपश्चिम रोयल्स १० अंकसहित अपराजित रहँदै सबैभन्दा अघि प्लेअफमा प्रवेश गरिसकेको छ। काठमाडौँ गुर्खाजले पाँच खेलबाट ८ अंक जोड्दै रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिएको छ।
विराटनगर किंग्सको पनि पाँच खेलमै ८ अंक छ तर रनरेट कमजोर भएकाले तेस्रो स्थानमा सीमित रहनुपरेको छ। चितवन राइनोज र लुम्बिनी लायन्सले ४–४ अंक जोडिरहेका छन्। चार खेल खेलेको चितवन चौथो स्थानमा छ भने पाँच खेल सकेको लुम्बिनी रनरेट कमजोर भएर पाँचौँ स्थानमा रहेको छ।
कर्णाली याक्स र पोखरा एभेन्जर्सले २–२ अंक मात्र बटुलेका छन् र क्रमशः छैटौँ तथा सातौँ स्थानमा छन्। जनकपुर बोल्टस भने एक खेल जित्न नसकेर पुछारमा ० अंकमै अड्किएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी सबै खेल खेलिँदै आएका छन्
नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ देखि सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ। लिग चरण, तीन प्लेअफ तथा फाइनलसहित कुल ३२ खेल आयोजना हुनेछन्।
मंगलबार लिग पुनः सुरु हुँदैछ। पहिलो खेलमा जनकपुर बोल्टस र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। यी खेलहरूले प्लेअफ समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।












