श्रीलंकामा भीषण विपत्ति : नेपाल सरकारको गहिरो दुःख, २ लाख डलर सहयोग

User Image Prime TV News ५३ मिनेट अगाडि
Image of श्रीलंकामा भीषण विपत्ति : नेपाल सरकारको गहिरो दुःख, २ लाख डलर सहयोग

काठमाडौ । श्रीलंकामा आएको भीषण बाढी र पहिरोले देशभर व्यापक जनधन क्षति पुऱ्याएपछि नेपाल सरकारले औपचारिक रूपमा संवेदना व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै श्रीलंकाली सरकार तथा जनताप्रति सहानुभूति प्रकट गरेको हो।

विज्ञप्तिमा नेपाल–श्रीलंका सम्बन्धको आत्मीयता उल्लेख गर्दै यस्तो कठिन घडीमा नेपाल सरकार “दृढतापूर्वक श्रीलंकासँग उभिएको” भनिएको छ। नेपालले विपत्तिमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ।

सहयोगका रूपमा नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकी डलर दुई लाख उपलब्ध गराउने घोषणा गरेको छ। विज्ञप्तिमा श्रीलंकाली जनताको साहस, शक्ति र धैर्यका कारण देश पुनःउठ्ने विश्वास समेत व्यक्त गरिएको छ।

श्रीलंकामा आएको यो विनाशकारी प्राकृतिक प्रकोप अत्यन्तै गम्भीर छ। हालसम्म कम्तीमा १९३ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी नागरिक बेपत्ता रहेका छन्। स्थानीय अधिकारीहरूले क्षतिको वास्तविक तथ्यांक अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।