बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध २००९ को सामूहिक हत्यासम्बन्धी नयाँ मुद्दा दर्ता
Prime TV News ५२ मिनेट अगाडि 
काठमाडौ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध २००९ मा भएको बंगलादेश राइफल्स (बीडीआर) विद्रोहसँग सम्बद्ध अर्को गम्भीर मुद्दा दर्ता गरिएको छ। यसअघि उनलाई मृत्युदण्ड र २१ वर्ष कैद सजायको फैसला सुनाइसकेपछि यो तेस्रो महत्वपूर्ण फाइल खुलाइएको हो।
१६ वर्षअगाडि भएको उक्त हिंस्रक विद्रोहमा ७४ जनाको हत्या भएको थियो । जसमा दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरू पनि परेका थिए। हालै गठन गरिएको विशेष अनुसन्धान आयोगले आइतबार सार्वजनिक गरेको रिपोर्टमा हसिनाले नै घटनाको निर्देशन दिएको दाबी गरेको छ।
आयोगका प्रमुख एएलएम फजलुर रहमानका अनुसार तत्कालीन अवामी लीग सरकार विद्रोहमा प्रत्यक्ष संलग्न थियो। उनका अनुसार संसदका पूर्व सदस्य फजले नूर तपोश मुख्य समन्वयकको भूमिकामा थिए र हत्याकाण्ड कार्यान्वयन गर्न हसिनाको इसारामा हरियो झण्डा देखाइएको आरोप लगाइएको छ।
रहमानले प्रेस सम्मेलनमार्फत विदेशी शक्ति विशेषतः भारत सँग मिलेर बंगलादेश सेनालाई कमजोर बनाउने प्रयास गरिएको दाबी पनि दोहोर्याए । २००९ को बीडीआर विद्रोह ढाकाबाट सुरु भई दुई दिनसम्म देशभर फैलिएको थियो। नयाँ सरकार गठन भएको केही हप्तामै यस्तो नरसंहार भएपछि तत्कालीन प्रधानमन्त्री हसिनाको नेतृत्वमाथि कडा आलोचना भएको थियो।
गत वर्ष २०२४ मा विद्यार्थी आन्दोलनको लहरपछि हसिना सत्ताच्युत भएकी थिइन्। उनी त्यसयतिबेला अदालतको आदेश नमान्दै भारतमा बस्दै आएकी छन्, जबकि बंगलादेश सरकारले उनलाई फर्काउने प्रयासस्वरूप भारतसँग पत्राचार गरिरहेको छ।













