मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, ‘अधिक तरलता’ मुख्य चिन्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंक आज आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ। कानुन अनुसार पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा जारी गर्नुपर्ने प्रावधानअनुसार बैंकले मंसिर १५ भित्रै समीक्षा ल्याउने तयारी गरेको हो।
गत वर्षभन्दा एक दिन ढिलो गर्दै राष्ट्र बैंक सञ्चालक समितिको बैठकमार्फत आजै समीक्षा पारित गर्नेछ। यसपटकको समीक्षामा बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता, कर्जा विस्तारमा सुस्ती र पूँजी बजारको कमजोर मनोबललाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा हाल झन्डै ११ खर्ब रुपैयाँ बराबरको निष्क्रिय तरलता रहेको अनुमान गरिएको छ। रेमिट्यान्स असाधारण रूपमा बढिरहेको र कर्जा माग कमजोर रहँदा प्रणालीमा तरलता थुप्रिने क्रम बढ्दै गएको छ।
यसले बैंकहरूको सञ्चालन लागत र लगानी क्षमतामा दबाब उत्पन्न गरिरहेको विशेषज्ञहरू बताउँछन्। लगातार घटिरहेको कर्जा मागले धेरै बैंकहरूमा कर्जा वृद्धि लक्ष्य प्रभावित बनेको छ। मौद्रिक नीतिको समीक्षा कर्जा विस्तारलाई प्रोत्साहित गर्ने दिशा–निर्देशन ल्याउने अपेक्षाले वित्तीय क्षेत्रमा उत्सुकता छ।
पूँजी बजार समेत सुस्त बनेको अवस्थामा नीति परिवर्तनले लगानीकर्ता मनोबलमा सकारात्मक सन्देश दिन सक्ने विश्लेषकहरूको बुझाइ छ। आर्थिक सुस्तीसँगै तरलता व्यवस्थापन चुनौति बनेको समय यस्तो समीक्षा विशेष प्रभावकारी हुने देखिन्छ।
बैंकहरूले समीक्षा मार्फत व्याजदर मार्गदर्शन, कर्जा प्रवाह सन्तुलन र तरलता नियन्त्रणका उपायहरू स्पष्ट हुने अपेक्षा राखेका छन्। राष्ट्र बैंकले दिउँसो औपचारिक रूपमा समीक्षा सार्वजनिक गर्नेछ, जसले आगामी त्रैमासिक आर्थिक गतिविधिलाई कस्तो दिशा दिने हो भन्नेमा सबैको ध्यान केन्द्रित छ।













