मुलुकले पहिलोपटक महिला नेतृत्व पायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मुलुकले पहिलोपटक महिला नेतृत्व पायो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा भएको सहमतिसँगै उनी आजै शपथग्रहण गरेकी थिइन् ।

यससँगै नेपालले इतिहासमै पहिलोपटक महिला नेतृत्वमा सरकार पाउने अवसर प्राप्त गरेको छ। कार्कीले यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्ने इतिहास रचेकी थिइन्।

प्रधानन्यायाधीशबाट अवकाश लिएको करिब आठ वर्षपछि कार्की अब कार्यकारी नेतृत्वमा पुग्दैछिन्। यसपटक उनले पहिलो महिला सरकार प्रमुखको भूमिका निर्वाह गर्दै पुनः अर्को ऐतिहासिक उपलब्धि हासिल गरेकी छिन्।

न्यायपालिकामा रहँदा कार्की हक्की, इमानदार र निर्भीक स्वभावका कारण चर्चामा रहिन्। विशेषतः संवैधानिक व्याख्या, भ्रष्टाचारविरुद्धको कठोर दृष्टिकोण र स्वतन्त्र न्यायालयका पक्षमा अडिक अडानका कारण उनी प्रखर न्यायाधीशको रुपमा परिचित थिइन्।

हालै सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीको आन्दोलनले देशका तीनै अंगमा ठूलो असर पार्यो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो।

प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न शून्यतामा राष्ट्रपति रामचन्द्र पौडेलले, प्रधानसेनापतिसहितको सहमतिमा अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। सोही प्रक्रियाअनुसार सुशीला कार्कीलाई नेतृत्व सुम्पिएको हो।

कार्कीले अब आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संस्थागत संरचना पुनःस्थापना गर्दै मुलुकलाई आगामी निर्वाचनसम्मको स्थायीत्वपूर्ण नेतृत्व प्रदान गर्नेछिन्। निर्वाचन सम्पन्न भएपछि उनले सत्ता नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गर्नेछिन्।