नेताहरूको सत्ता लोभ, खेलवाडले आक्रोश बढाएको भुसालको निष्कर्ष

User Image Prime TV News एक महिना अगाडि
Image of नेताहरूको सत्ता लोभ, खेलवाडले आक्रोश बढाएको भुसालको निष्कर्ष

काठमाडौ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुक अहिले असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।

भुसालले जेनजी आन्दोलन र त्यसपछि भएको विध्वंसलाई इतिहासमा असाधारण घटना भन्दै विश्लेषण गरेका छन् । उनले भने, “राज्यको सम्प्रभुताले घुँडा टेक्यो, सरकार र संसद्ले आत्मसमर्पण गरे, राजनीतिक पार्टीहरूले आफ्नो औचित्य गुमाए र नेताहरूले ज्यान जोगाउन भागाभाग गर्नु परेको छ।”

उनले २०७२ सालमा संविधान जारी भएपछि जनतामा उच्च आकाङ्क्षा रहेको बताए। तर, नेताहरूको सत्ता लोभ, खेलबाड र लोकतन्त्र विरोधी कार्यहरूले जनतामा वितृष्णा र आक्रोश बढाएको भुसालको निष्कर्ष छ।

भुसालले नेपाली कांग्रेस र नेकपा एमालेका नेतृत्वको आलोचना गर्दै भने, यी दलहरूले मुलुकको रूपान्तरण र जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताए। नयाँ पार्टीहरूमा पनि विचारहीन पपुलिस्टको बढ्दो प्रभाव र नेताको शक्ति लोभ देखिएको उनले उल्लेख गरे।

उनले पूर्व कर्मचारी र सुरक्षा निकायका अधिकारीहरू आफ्नो विगतको बदला लिन वा सम्पत्ति सुरक्षित गर्न नयाँ राजनीतिक गतिविधिमा लागेको उल्लेख गर्दै, भविष्यमा राजनीतिमा अवाञ्छित प्रवृत्तिहरू फैलिने चेतावनी दिए।

भुसालले भने, “हाम्रो राजनीतिमा भूराजनीतिक चलखेल बढ्नेछन्, राष्ट्रको स्वतन्त्र निर्णय गर्ने क्षमता कमजोर हुनेछ। हामी राजनीतिक सङ्कटको लामो सुरुङमा प्रवेश गरिसकेका छौं। सानोतिनो प्रयत्नले यसबाट सजिलै निस्कन सकिँदैन।”