नेपाली कांग्रेसको १५ औं महाधिवेशनको तालिका पेस गर्ने तयारी, देउवा पक्षधरका नेताहरु भन्छन्ः धोका भयो

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाली कांग्रेसको १५ औं महाधिवेशनको तालिका पेस गर्ने तयारी, देउवा पक्षधरका नेताहरु भन्छन्ः धोका भयो

काठमाडौ । नेपाली कांग्रेसले पुस अन्तिम साता आयोजना हुने १५ औं महाधिवेशनको तालिका आज पेस गर्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पुस २६ गतेका लागि महाधिवेशनको तालिका प्रस्तुत गर्ने जनाइएको छ।

यसअघि शुक्रबार र आइतबार सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी, केही पूर्वपदाधिकारी र नेतासँग भएको छलफलमा पुस अन्तिम साता महाधिवेशन गर्ने सहमति जुटाइएको थियो। तर, देउवा नजिकका नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतले फागुन २१ प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन नगर्ने पक्षमा थिए। उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकको प्रस्तावलाई धोका भएको भन्दै आपत्ति जनाएका थिए।

यसपछि सभापति देउवाले असन्तुष्ट नेताहरूलाई निवासमा बोलाएर छलफल गरेका थिए। छलफलमा विरोध जनाएका नेताहरूले कार्यवाहकले ल्याएको प्रस्तावमा अन्ततः सहमति जनाउने निर्देशन पाएका थिए। देउवाले भने, “कार्यवाहकले ल्याएको प्रस्तावमा सहमति गरौँ। त्यसैमा सहमति गरेर जाने हो। यति गर्दा पनि नमाने जेजे हुन्छ बेहोर्नुपर्ला।”

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि जारी छ। बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद रहेको थियो। महामन्त्री गगनकुमार थापासहितका केही नेताले विशेष महाधिवेशनको पक्षमा रहे, भने संस्थापनले नियमित महाधिवेशनमा जोड दिएको थियो। विवाद नमिलेपछि सभापति देउवाले सक्रिय भूमिका खेलेर तालिका पेस गर्ने सहमति जुटाएका हुन्।