‘जेनजी’ आन्दोलनमा सुरक्षा कमजोरी: डीएसपी कुवँरविरुद्ध विभागीय कारबाही सिफारिस
Prime TV News ४२ मिनेट अगाडि 
काठमाडौ । ‘जेनजी’ आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलले आफ्नो आन्तरिक सुरक्षा कमजोरीबारे छानबिन गरेको छ। छानबिन प्रतिवेदनअनुसार आन्दोलनको सुरुआती अवस्थामै सशस्त्र प्रहरी बलको प्रयोग प्रभावकारी हुन नसकेको देखिएको छ।
सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार सामान्य प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबीच तालमेल नजुट्दा सुरक्षामा कमजोरी देखिएको हो। उनीहरूले सुरुआती अवस्थामा प्रहरी नै नेतृत्वमा रहेर दंगा नियन्त्रण गर्नु पर्छ र अवस्था बिग्रिने बेलामा मात्र सशस्त्र प्रहरी बललाई प्राथमिक जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेका छन्।
छानबिनले बानेश्वरस्थित सुरक्षा बेसमा पनि गम्भीर त्रुटी भएको पुष्टि गरेको छ। आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलको ११ थान एसएलआर राइफल जलेर नष्ट भएको थियो। सो सुरक्षा बेसको कमान्डर डीएसपी गौतम कुवँरलाई हतियार सुरक्षित गर्न असफल भएको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।
एक अधिकारीका अनुसार डीएसपी कुवँरले प्रदर्शनको जोखिम विश्लेषण गर्न नसकेको , समयमै आफ्नो टोली परिचालन गर्न असफल भएको र सुरक्षाकर्मीहरू कार्यालय छोड्दा हतियार नबोकी निस्किएको खुलेको छ। सुरक्षा निकायमा हतियार जोगाउन नसक्नु गम्भीर कमजोरी मानिन्छ। सशस्त्र प्रहरी बलको छानबिन प्रतिवेदन आईजीपी राजु आर्याललाई बुझाइएको छ।













