नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ सम्म हुने

User Image Prime TV News ३ महिना अगाडि
Image of नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ सम्म हुने

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारित मितिमा नियमित महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बैठकले महाधिवेशनअघि हुने सबै तहका आन्तरिक अधिवेशनको तालिका समेत सार्वजनिक गरेको छ। त्यसअनुसार वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते आयोजना गरिनेछ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भने जिल्लाहरूको संरचना अनुसार फरक मितिमा हुने निर्णय गरिएको छ। एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेका जिल्लामा पुस २२ गते अधिवेशन हुनेछ भने एकभन्दा बढी क्षेत्र भएका जिल्लामा सोही दिन जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।

यस्तै, पार्टीका सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय बैठकले गरेको छ। कांग्रेसले महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक रूपमा देशव्यापी तयारी तीव्र बनाएको छ। पार्टीले निर्धारित तालिकाअनुसार सबै तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने जनाएको छ।