एमाले सत्ता केन्द्रित बनेको झलनाथ खनालको आरोप

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले सत्ता केन्द्रित बनेको झलनाथ खनालको आरोप

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा एमाले सत्ता–केन्द्रित राजनीति गर्दै आएको आरोप लगाएका छन्।

सोमबार विराटनगरमा आयोजित पार्टीको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै खनालले जसरी भए पनि सत्ता प्राप्ति गर्ने प्रवृत्तिलाई एमाले बाटोको संज्ञा दिएका छन् । खनालले भने, “जोसुकैसँग साँठगाँठ गरेर अघि बढ्ने बाटो क्रान्तिको बाटो होइन। जसरी पनि बालुवाटार पुग्ने बाटो एमाले बाटो हो। त्यसरी क्रान्तिको बाटो लिन सकिँदैन।”

उनले सिद्धान्त र नीतिका आधारमा एकता भएको उल्लेख गर्दै सही मार्ग यही भएको धारणा राखे। खनालले कम्युनिस्ट नेतृत्वमा पटक पटक सरकार बने पनि क्रान्तिकारी भूमिसुधार र कृषि क्रान्ति कार्यान्वयन नभएको स्वीकार गरे।

संविधान र महाधिवेशनमा प्राथमिकतामा राखिए पनि सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति देखिएको उनले टिप्पणी गरे। “खै अहिलेसम्म क्रान्तिकारी भूमिसुधार ? कृषि क्रान्ति गर्नुपर्छ भनेर संविधानमा लेख्यौं, महाधिवेशनले पारित गर्‍यो, तर सत्तामा पुगेपछि बिर्सियौं,” उनले भने।

नेता खनालले देशमा औद्योगिकीकरण हुन नसक्दा ठूलो संख्या विदेशिन बाध्य भएको दाबी गरे। साथै खनालले पार्टी एकताको प्रसंगमा १६ दलले मार्क्सवाद–लेनिनवादलाई साझा सिद्धान्त मानेर एकता बनेको स्पष्ट पारे।

“एकता भनेको टाउको, पुच्छर वा टुप्पी जोडेर होइन, सिद्धान्तका आधारमा हुन्छ,” उनले भने। नेता खनालले नेपाली विशेषताको समाजवाद प्राप्त गर्नु पार्टीको रणनीतिक लक्ष्य र निर्वाचनमा भाग लिनु कार्यनीतिक लक्ष्य रहेको बताए।