चुनौतीहरूलाई सम्बोधन गर्न लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नु आवश्यक छः प्रचण्ड
Prime TV News एक घण्टा अगाडि 
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विराटनगरलाई नेपाली मजदुर आन्दोलनको ऐतिहासिक केन्द्रको रूपमा उल्लेख गर्दै सो आन्दोलनको प्रभावलाई सम्झाएका छन्।
विराटनगरमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले शान्ति प्रक्रियामा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको योगदानलाई विशेष रूपमा याद गरे। प्रचण्डले भने, "विराटनगरको मजदुर आन्दोलन नेपालको संघर्षको प्रमुख आधार बनेको छ।
यस आन्दोलनले राजनीतिक र सामाजिक परिवर्तनको दिशा निर्धारण गरेको हो।" उनले आगामी समयका चुनौतीहरूलाई सम्बोधन गर्न वामपन्थी पार्टीहरू मात्रै पर्याप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नु आवश्यक भएकोमा जोड दिए।
प्रचण्डले भने, "वर्तमान समस्याहरूको समाधान केवल वामपन्थी एकताले मात्र सम्भव छैन। हामी सबै मिलेर अघि बढ्नुपर्छ।" प्रचण्डले आफ्नो भाषणमा २०६२/०६३ को ‘जेनजी’ आन्दोलनको कुरा गर्दै त्यस समयको ऐतिहासिक र चुनौतीपूर्ण परिस्थिति सम्झाए।
उनले भने, "त्यस समय हामीले देशलाई संकटबाट बचाउनका लागि धेरै कठिन समयमा संघर्ष गर्नुपर्यो। हाम्रो बीचमा असमञ्जस र त्रासका बीच समय वितेका थिए। सेना र राष्ट्रपतिसँगका छलफल र सम्पर्कहरूको कुरा सम्झँदै प्रचण्डले थपे, 'राजदरबारको सरसफाइ र शासनको नयाँ रूपको आशंका थियो, तर हामीले संकटलाई पार गर्न सहयोग पुर्याएका थियौं।'
प्रचण्डले अझै पनि देश संकटमुक्त नहुँदा नेपालका नागरिकलाई जागरुक र बलिदानका लागि तयार रहन आह्वान गरे। उनले भने, "साम्राज्यवादी शक्तिहरूसँग लड्नका लागि हामीसँग एटोमिक शक्ति छैन, त्यसैले तीन करोड नेपाली नै 'फौज' बन्न तयार हुनुपर्छ। यदि हामी सबैको एकता र बलिदानले मात्र हामी देशको रक्षा गर्न सक्नेछौं।"
प्रचण्डले केपी शर्मा ओलीका लिखित सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको पनि बताए । उनले भने, "हाहुका भरमा सरकार निर्माणका आरोप गलत थिए। हामीले अन्तरिम सरकार निर्माणमा सहयोग गरेका थियौं, तर त्यसलाई गलत अर्थमा प्रस्तुत गरिएको थियो।" साथै प्रचण्डले शान्ति सम्झौतापछि नेपालमा नयाँ युगको शुरुवात भएको कुरा स्मरण गर्दै गिरिजाप्रसाद कोइरालासँगको सहमति र संघर्षलाई स्मरण गरेका थिए ।













