मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

User Image Prime TV News एक घण्टा अगाडि
Image of मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले तीन दिन लामो सुनुवाइपछि प्रदेश प्रमुखको नाममा आदेश जारी गर्दै सरकारले लम्ब्याउने कोसिस गरेको राजनीतिक अनिश्चिततालाई अन्त्य गर्न कदम चालेको छ।

रिट निवेदकले यादवलाई तत्काल बर्खास्त गर्न माग गरे पनि अदालतले संसदीय लोकतन्त्रको मान्यताअनुसार विश्वासको मतमार्फत नै सरकारको निरन्तरता वा अन्त्यको निर्णय हुनुपर्ने ठहर गरेको छ। अदालतको आदेश अनुसार विश्वासको मत नपाए प्रदेशका ७३ सांसदले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन पाउनेछन्।

तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले कात्तिक २२ गते राजीनामा दिएपछि प्रदेशमा सरकार गठन प्रक्रिया विवादास्पद बनेको थियो।

राजीनामापछि अन्य दलहरू १६८(२) अनुसार नयाँ सरकार बनाउने तयारीमा हुँदा तत्कालीन प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले कात्तिक २४ गते राति बर्दीवासस्थित होटलमा सरोजकुमार यादवलाई धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराएकी थिइन्।

यादव स्वयंले पनि शपथ प्रक्रियामा दबाब दिएको स्वीकार गरेका थिए। उनले आफूलाई शपथ लिन नदिने संकेत पाएपछि सुरक्षित स्थानमा रातारात शपथ लिनुपर्ने परिस्थिती बनेको दाबी गरेका थिए।

शपथसम्बन्धी विवाद चुलिँदै जाँदा संघीय सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरी सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरिसकेका छन्।