एनपीएलमा आज दुई खेल: जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

User Image Prime TV News ५७ मिनेट अगाडि
Image of एनपीएलमा आज दुई खेल: जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई महत्वपूर्ण खेल हुँदैछन्। सोमबार 'ब्रेक' रहेको प्रतियोगिता आज पुनः सुरु हुँदैछ।

आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर र चितवन भिड्नेछन्। जनकपुरका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । किनकि टिमले अहिलेसम्म चारै खेल हार्दै अंक खोल्न सकेको छैन। चितवन भने चार अंक जोडेर प्लेअफ नजिक जान खोजिरहेको टिम हो।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णाली आमनेसामने हुनेछन्। दुवै टिमको अवस्था समान रहेको छ। दुवैले दुई–दुई अंक जोडेका छन्। कर्णालीले पाँच खेल खेलेको छ भने पोखराले चार खेल मात्रै खेलेको छ। अंकतालिकामा पछाडि रहेका यी टिमका लागि आजको खेल अवसर र दवाब दुवै बनेको छ।

१९ खेल सकिँदा अंकतालिका निकै प्रतिस्पर्धात्मक बनेको छ। अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा स्थान बनाइसकेको छ। काठमाडौं र विराटनगर दुवैले आठ आठ अंक जोडेको भए पनि रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन्।

चितवन र लुम्बिनी दुवैसँग चार–चार अंक रहेको छ । लुम्बिनीले पाँच खेल खेलेको छ भने चितवनले चार खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो र लुम्बिनी पाँचौँ स्थानमा छन्।

कर्णाली र पोखरा दुई–दुई अंकसहित क्रमशः छैटौँ र सातौँ स्थानमा छन् भने साविक विजेता जनकपुर एकपटक पनि जित निकाल्न नसकेर पुछारमा छ।