इमरान खानको पार्टीलाई इस्लामाबाद र रावलपिण्डीमा जुलुस वा प्रदर्शन गर्न प्रतिबन्ध
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री इमरान खानका शुल्क सम्बन्धी मुद्दामा छिटो सुनुवाइको मागसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आह्वान गरेको विरोध प्रदर्शनअघि राजधानी इस्लामाबाद र छिमेकी सहर रावलपिण्डीमा धारा १४४ लागू गरिएको छ। प्रशासनले कुनै पनि प्रकारको सभा, जुलुस वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।
बीबीसी उर्दुका अनुसार, पीटीआईसँग सम्बन्धित सबै सांसद मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेल परिसरबाहिर शान्तिपूर्ण प्रदर्शन गर्ने तयारीमा छन्। खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार प्रदर्शनको घोषणा गर्दै विधानसभाका सदस्य मात्र सहभागी हुने र कार्यकर्तालाई नआउन आग्रह गरेका थिए।
मुख्यमन्त्री अफ्रिदीले प्रदर्शनको उद्देश्य इमरान खान र उनकी पत्नी बुशरा बीबीविरुद्ध दर्ता भएका मुद्दाहरूको छिटो तथा न्यायपूर्ण सुनुवाइ सुनिश्चित गराउनु भएको वताए । पूर्वप्रधानमन्त्री इमरान खान करिब दुई वर्षदेखि रावलपिण्डीस्थित अदियाला जेलमा बन्दी छन्। उनलाई झन्डै दुई हजार करोड रुपैयाँ बराबरको भ्रष्टाचारसम्बन्धी एक मुद्दामा अदालतले सजाय सुनाएको छ।
धारा १४४ लागु भएपछि दुवै सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले अनधिकृत भीडभाड वा निर्देश उल्लङ्घन गर्ने गतिविधि देखिए तुरुन्त कारबाही गरिने चेतावनी दिएको छ।













