मधेश प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बैठक तुरुन्त बोलाउन माग
Prime TV News ५२ मिनेट अगाडि 
जनकपुर । मधेश प्रदेशमा विपक्षी दलहरूको गठबन्धनले प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ। सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि दलहरूले यस्तो आग्रह गरेका हुन्।
मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लगायतका दलहरूले उपसभामुख बबिता राउतसँग दिउँसो ४ बजे बैठक बोलाउन मौखिक अनुरोध गरेका छन्।
सर्वोच्च अदालतको आदेशअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भए वा मत प्राप्त गर्न नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। कांग्रेस सांसदहरुका अनुसार सम्बन्धित दलहरूले आफ्ना सांसदहरूलाई जनकपुर नछोड्न निर्देशन दिएका छन्। विपक्षी दलहरुले दिउँसो १ बजे आसपास अनौपचारिक भेटघाट गर्ने योजना पनि बनाएको बताएका छन् ।













