पुरानो शैलीले देशलाई संकटमा पुर्‍याउन सक्छःडा. भट्टराई

User Image Prime TV News ४७ मिनेट अगाडि
Image of पुरानो शैलीले देशलाई संकटमा पुर्‍याउन सक्छःडा. भट्टराई

काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो जेनजी विद्रोहले देखाएको राजनीतिक आक्रोशलाई मात्र नजरअन्दाज गर्नु खतरनाक रहेको बताएका छन्। उनले सामाजिक संजालमा लेख्दै नवयुवाहरूको आन्दोलनले नेपालको राजनीतिक र सामाजिक पुनर्सरचनाको आवश्यकता स्पष्ट रूपमा देखाएको बताएका छन् । 

डा. भट्टराईले भने, "पुरानो राजनीति, दल, नेतृत्व, संगठन र कार्यशैलीलाई सामान्य रूपले सजाएर नयाँको नाममा प्रस्तुत गर्ने, वा खोक्रो पपुलिष्ट एजेण्डा ल्याउने प्रयासले नवयुवाहरूको आक्रोशलाई भजाएर मात्र देशलाई आगामी दिनमा ठूलो विस्फोट र विग्रहतिर लैजान सक्छ।"

उनले संकटग्रस्त राज्य र समाजभित्र पुत्पुताइरहेका बहुआयामिक अन्तर्विरोधलाई बेलैमा उचित निकास नदिँदा इतिहासमा कहिल्यै पनि सफलता नआएको स्मरण गराए । केवल समस्या दबाएर राख्ने प्रयासले दीर्घकालीन रूपमा अझ ठूलो संकट निम्त्यान सक्ने उल्लेख गरे ।

डा. भट्टराईले समाज र राजनीतिमा वास्तविक सुधार र नयाँ संरचनाको आवश्यकता रहेको जोड दिदै सबै पक्षलाई जिम्मेवार र सतर्क हुन आग्रह गरेका छन्।

डा. भट्टराईले निम्न कार्यहरू तदारुकताका साथ सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् :

 १, जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्। 

२, कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस्। 

३, तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्। 

४, निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस्।