कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बुधबार बस्ने
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक बुधबार बस्ने भएको छ। पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो।
समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ। समिति सदस्य प्रकाश रसाइली (स्नेही) अनुसार, बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि आवश्यक काम सुरु गर्नेछ।
रसाइलीले भने, “पार्टीको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न र केन्द्रीय कार्यसमितिको निर्देशन तलसम्म पुर्याउन बैठक बस्ने हो।” समितिले अहिलेसम्म भएका सदस्यता कामहरूलाई लिपिबद्ध गर्दै प्राविधिक पक्षलाई सहज बनाउने पनि जनाइएको छ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन्। थापाको प्रतिवेदनअनुसार, झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये हालसम्म तीन लाखले मात्र सदस्यता नवीकरण गरेका छन्।
केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ जनाको नवीकरण विवरण प्राप्त भएको छ। १९ जिल्लामा १ लाख ६३ हजार ८०८ सदस्यतामध्ये १ लाख १८ हजार ७९४ सदस्यले मात्र नवीकरण गरेका छन् भने २७ जिल्लामा १ लाख ९० हजार ४६० सदस्यता केन्द्रमा पठाइँदैछ। १६ जिल्लामा वडाबाट सदस्यता संकलन भइरहेको छ।
थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरण ढिलाइ भएको जानकारी पनि दिएका छन्।













