नेपालका नयाँ प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति अमेरिका उत्साहित


काठमाडौ । नेपालमा हालै नियुक्त गरिएको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछि अमेरिका निर्वाचनमा सहकार्यकालागि तत्पर रहेको जनाएको छ। अमेरिकाले नेपाली राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोकराज सिग्देल र युवा नेताहरूको लोकतान्त्रिक प्रक्रियामा गरेको योगदानको सराहना गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासले कार्कीको नियुक्तिप्रति कुनै विशेष बधाई व्यक्त नगरे पनि गत हप्ताको दुःखद घटनापछि शान्ति पुनःस्थापना र शान्तिपूर्ण समाधानको स्वागत गर्दछौं, भनिएको छ।
"क्षतिमा शोक मनाइरहँदा पनि, हामी राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दछौं। हामी नेपाली सेना र प्रधानसेनापतिलाई व्यवस्था पुनःस्थापित गर्न र नागरिक सरकारको शान्तिपूर्ण संक्रमणलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। " विज्ञप्तीमा भनिएको छ ।
अमेरिकी दूतावासले आगामी महिनामा अन्तरिम सरकारसँग सहकार्य गर्दै नयाँ चुनावको तयारीमा योगदान पुर्याउने आफ्नो तत्परता प्रकट गरेको छ।