अख्तियारले जीवन बहादुर शाही विरुद्ध सर्वोच्चमा पुनरावेदन
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवन बहादुर शाही सहितका केही प्रतिवादीलाई सफाइ दिइएको तथा सजाय कम तोकिएको भन्दै मंगलबार पुनरावेदन दायर गरेको हो।
नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदका क्रममा व्यापक भ्रष्टाचार भएको दाबीसहित अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले गत वर्ष फैसला सुनाएको थियो। केही प्रतिवादी दोषी ठहर गरिए पनि, शाहीसहितका अन्य प्रतिवादीले सफाइ पाएपछि आयोग सर्वोच्च पुगेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार, वाइडबडी खरिद प्रक्रियामा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको छ। विमानको भारवहन क्षमता र मूल्य वृद्धि नाममा बदनियतपूर्ण रूपमा रकम भुक्तानी गरी राज्यलाई ठूलो हानि पुर्याइएको आयोगको आरोप छ।
आयोगले आपूर्तिकर्तालाई ६७ लाख ८८ हजार १०९ अमेरिकी डलर ६० सेन्ट (नेपाली करिब ७४ करोड ५८ लाख रुपैयाँ) बढी भुक्तानी गरिएको तथा २४२ टन क्षमताका लागि सम्झौता भए पनि २३० टन क्षमताको विमान ल्याउँदा १२ टन क्षतिको मूल्य घटाउनुपर्नेमा नघटाई पुरानै मूल्य तिर्नुले ६६ लाख अमेरिकी डलर (करिब ७२ करोड ५२ लाख रुपैयाँ) बराबरको हानि भएको दाबी गरेको छ।
विशेष अदालतले पूर्व महाप्रबन्धक सुगत रत्न कंसाकार, पूर्व सचिव शंकर प्रसाद अधिकारीसहितका केहीलाई दोषी ठहर गरे पनि बिगोबमोजिम सजाय र कारबाही नभएको आयोगको जिकिर छ।पुनरावेदन दर्ता भएपछि वाइडबडी प्रकरण पुन चर्चा केन्द्रमा आइपुगेको छ।













