मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक : आर्थिक कडाइदेखि महत्वपूर्ण नियुक्तिसम्म (पूर्णपाठ सहित)

User Image Prime TV News ४३ मिनेट अगाडि
Image of मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक : आर्थिक कडाइदेखि महत्वपूर्ण नियुक्तिसम्म (पूर्णपाठ सहित)

काठमाडौ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको २७ निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार सार्वजनिक गरेका छन्। बैठकका निर्णयहरू आर्थिक सुशासन, उच्चस्तरीय नियुक्ति, प्रशासनिक व्यवस्थापन तथा वैदेशिक सहायता केन्द्रित रहेका छन्।

नगद कारोबारमा कडाइ, पाँच लाखभन्दा माथिको कारोबार बैंकमार्फत

वित्तीय पारदर्शिता मजबुत बनाउन सरकारले नगद कारोबारमा कडाइ गर्ने व्यवस्था लागू गर्ने जनाएको छ। आगामी माघ १ गतेदेखि प्रभावमा आउने नीतिअनुसार एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरीद बिक्री बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने छ। सरकारले यस कदमबाट वित्तीय अनुशासन बढ्ने र अवैध आर्थिक क्रियाकलाप नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरेको छ।

महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन

मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न संस्था तथा आयोगमा पदाधिकारी नियुक्त गरिएको छ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य (दाङ), लुम्बिनी विकास कोषका सदस्य सचिवमा ई. दीपक श्रेष्ठ (गोरखा), विश्वविद्यालय अनुदान आयोगका सचिवमा प्रा. ज्ञान बहादुर थापा, कर्मचारी सञ्चय कोष सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवमा सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । 

श्रीलङ्कालाई दुई लाख डलरको मानवीय सहायता

बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेको श्रीलङ्कालाई नेपाल सरकारले २ लाख अमेरिकी डलर मानवीय सहायतास्वरूप उपलब्ध गराउने निर्णय पनि गरेको छ। सरकारले यसलाई मित्रराष्ट्रप्रतिको मानवीय समर्थनका रूपमा व्याख्या गरेको छ। 

यस्तै मन्त्रिपरिषद्को अन्य निर्णयहरू आर्थिक व्यवस्थापन, पूर्वाधार विकास र प्रशासनिक सुधारका विभिन्न विषयमा केन्द्रित रहेको सरकारका प्रवक्ताले जानकारी दिए।