सर्वोच्चको परमादेशपछि मधेस प्रदेशसभा बैठक आज, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्चको परमादेशपछि मधेस प्रदेशसभा बैठक आज, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौ । मधेस प्रदेशसभा आज बिहान बस्ने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बिहान ८:३० बजेका लागि बैठक आह्वान गरिएको छ।

सोमबार साँझ सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि आजको बैठक निर्णायक बनेको हो। सर्वोच्च अदालतले संविधानअनुसार मुख्यमन्त्रीले तात्कालिक रूपमा बहुमत सिद्ध गर्नुपर्ने ठहर गर्दै आदेश जारी गरेको थियो। 

मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकार कायम रहन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, तर एक जना निलम्बनमा छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक एक सांसद एमालेको पक्षमा उभिएको देखिए पनि राप्रपाले मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाले राजनीतिक परिस्थिति थप जटिल बनेको छ।

यसअघि एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो। तर प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च अदालत पुगेको थियो। त्यसै मुद्दामा आएको आदेशले आजको विश्वासको मत प्रक्रियालाई अनिवार्य बनाएको हो ।