विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्ने मन्त्री पुनको भनाई

User Image Prime TV News एक महिना अगाडि
Image of विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्ने मन्त्री पुनको भनाई

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूलाई कडा चेतावनी दिएका छन्।

मन्त्रालयले पटक पटक स्मरणपत्र पठाउँदा पनि केही स्थानीय तहले नियमविपरीत विद्यालय सञ्चालन गरिरहेको भन्दै उनले तत्काल सुधार नभए संघीय सरकारले प्रदान गर्ने अनुदान नै रोक्का गरिने घोषणा बताएका छन् । मन्त्री पुनका अनुसार देशभरका पालिकालाई नियमअनुसार एसएमसी गठन गर्न औपचारिक सूचना जारी गरिसकिएको छ।

सामाजिक संजालमा उनलेे भनेका छन्, “विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन्। त्यस्ता पालिकालाई तुरुन्त समिति गठन गर्न निर्देशन दिइएको छ। अन्यथा संघीय अनुदान रोक्ने गरी कारबाही अघि बढाइनेछ।”

उनका अनुसार एसएमसी गठन नगर्ने पालिकाहरूको नाम संकलनको काम तीव्र गतिमा भइरहेको छ। सूची तयार भएपछि सम्बन्धित पालिकासँग स्पष्टीकरण मागिने र आवश्यक कानुनी तथा प्रशासनिक कदम चालिने मन्त्रालयको तयारी छ। शैक्षिक प्रणाली सुधारका लागि विद्यालय व्यवस्थापन समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको मन्त्री पुनले बताए।

उनका अनुसार एसएमसीले विद्यालयको पारदर्शिता, उत्तरदायित्व, अभिभावक सहभागिता र शैक्षिक हुनेखानेपनामा प्रत्यक्ष भूमिका खेल्ने भएकाले यसको गठन अनिवार्य रूपमा लागू गरिनेछ।